मुलुकको स्थिति अलिकति गम्भीर र जटिल छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् । सरकार र प्रतिपक्षी दलहरूबीच संवाद रोकिएको पनि दाहालले बताए । दाहालले देशको स्थिति गम्भीर र जटिल अवस्थामा रहेको बताए । ‘मुलुकको स्थिति अलिकति गम्भीर र जटिल छ । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ ।
राजनीति नीतिहरूको राजा हो, दाहालले भने, राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै, हामीले त्यसको सफाई गर्नैपर्छ । राजनीतिमा देखिएको फोहोर सफाइ गर्नकै लागि नै आफू प्रधानमन्त्री रहेका बेला राजनीनिक नेतृत्व तहमा पनि लगातार संवाद गरेको दाहालले बताए । सत्ता र प्रतिपक्षबीच संवाद भइरहनुपर्ने उनको भनाइ थियो । अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले ,कहिले भन्ने गरिन्छ, सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा, उनले भने ।