शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः पौडेल
बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए । सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकको सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ र अन्य पुरानै अनुहार हुन् । नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अघि बढ्ने बताए । ‘हामीले दुर्गम क्षेत्रको सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘अबको सेवा डिजिटल बैंकिङ भएकाले त्यसलाई बैंकले सदैव आत्मसात् गर्दै अघि बढिरहेको र भोलिका दिनमा अझै उच्च महत्त्वका साथ आधुनिक र सुरक्षित प्रविधिमा ध्यान दिनेछौं ।’ बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको बैंकको दावी छ ।
रूपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ८ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकामा बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार बैंकले अहिलेसम्म ८८ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, १६ एटीएम मेसिनबाट सेवा प्रवाह गरिरहेको छ । ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १ सय ३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ । बैंकमा ७ सय ३८ जना कर्मचारी कार्यरत छन् ।बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड ९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति सेयर आम्दानी १४ दशमलव ४८ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात १२ दशमलव ५६ प्रतिशत छ । बैंकले गत वर्ष इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा उपाधि र नेपालमा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको थियो ।