२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानीहुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने : अध्यक्ष कार्की
काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् । अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट, डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चा पदार्थ र रोजगारीमा ४० खर्ब रुपैयाँ खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४ सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहनल प्रचण्डको पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता हुँदै बंगलादेशमा ४० मेगावाट निर्यात सुरु र हालसालै १५ हजार मेगावाट निर्यात उदेश्यसहित २८ हजार ५ सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कासहित सिंगो मन्त्रिपरिषद् सकारात्मक भएको बेला ऊर्जा क्षेत्रको विकास नभए कहिल्र्यै यो क्षेत्रको विकास नहुने कार्कीले ठोकुवा गरे । २८ हजार ५ सय मेगावाटको मार्गचित्र पास भएको छ, यसले फरक सन्देश दिएको छ । तर, विद्युत विधेयक यो लक्ष्यको विपरीत भएकोले त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने पनि उनको भनाइ छ ।
‘२८ हजार ५ सय मेगावाट का लागि ६६ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले सहज नीति बनाइदिने हो भने लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार छ । शक्तिशाली उर्जा मन्त्रालय बनाएर वन तथा वातावरणका मुद्दा पनि त्यहिबाट सल्टाउने गरी सरकार अघि बढ्नुपर्छ,’ कार्कीले भने, ‘विद्युत विधेयक संशोधन नगरी पास नगरौ, होइन भने निजी क्षेत्रले ऊर्जामा स्पेस नै पाउँदैन ।’ १८ महिनादेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा अड्किएको बताउँदै कार्कीले भने, ‘बैंकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न सक्दैनन् । ऊर्जा मन्त्रीले यसमा निर्देशन दिने बेला भइसक्यो ।
नेपालमा भएका ४,५ वटा राम्रा जलविद्युत आयोजनामध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न आग्रह गरे । छोटो अवधिमै २० वटा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको भन्दै कार्कीले बैंक तथा वित्तीय संस्थाहररूको योगदानलाई सम्झिए । पूर्वऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले १ हजार ५ सय मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्दा दाना खोला सोहीभित्र समेटिएको आयोजना हो । प्रवर्द्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताए । आयोजनाका लागि ९ अर्ब ९६ करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ । ७४ करोड रुपैयाँ स्थानीयमा सेयर जारी गरेर, १ अर्ब ७४ करोड रुपैयाँ सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ। आयोजना मनाङको नासो गाउँपालिकामा विकास हुनेछ ।