बालकुमारी सहकारीको २४ औं साधारण सभा, ब्यवस्थापक श्रेष्ठ सम्मानित

भक्तपुर । ‘आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं’भन्ने मुल नाराका साथ मध्यपुर थिमिका विभिन्न क्षेत्रमा आबद्ध २८ जना महानुभावहरुले २०५७ असोज २ गते सोमबार यस संस्थाको स्थापना भएको संस्था जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता नं ३३।०५७।५८ मा दर्ता भई ७ लाख रूपैयाँ पुँजीबाट सुरु भएको संस्थाले स्थानीय तहमा छरिएर निस्क्रिय रुपमा रहेको सानो सानो पुँजीलाई एकीकृत गरी सहकारीताको भावनाले अभिप्रेरित भएर विभिन्न क्षेत्रमा लगानी गर्दै सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्‍याउँदै आइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अथिति राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा रहेकी थिइन् ।

सभामा बोल्दै उनले बालकुमारी सहकारी संस्थाले समुदाय र सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गरेका कारण यस क्षेत्रकै उत्कृष्ट संस्था बन्न सफल भएको बताइन् । संस्थाले सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्नुले संस्था सदस्यप्रति समर्पित भएको प्रमाणित गरेको उनले उल्लेख गरिन् । संस्था समुदायमा परिचित भइसकेकाले संस्थाको छविलाई कायम राख्दै आगामी दिनमा अगाडि बढाउन सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

संस्थाले बर्षभरी के के कार्यक्रम गर्यो र यस आर्थिक बर्षमा के कस्ता कार्यक्रम गर्ने भनेर छलफल गर्ने थलो साधारण सभा भएकाले सदस्यको सक्रिय सहभागिता आवश्यक पर्ने उनको भनाई छ। समुदायले स्वीकार गरेको र सामाजिक गतिविधी गर्ने मात्र वास्तविक सहकारी भएको उनको भनाई छ । संस्थालाई अझ अगाडि बढाउन सदस्यको भूमिका महत्वपूर्ण हुने भएकाले सहकारीमा विश्वास गरेर बचत ऋणको कारोबारसँगै सबै गतिविधीमा सहभागी जनाउन उनले आग्रह गरिन् ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी बर्ष घोषणा गरेकाले नेपालका सहकारी संस्थाले रचनात्मक कार्यक्रमको आयोजना गरी यो बर्ष मनाउन उनको आग्रह छ । सभामा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै संस्था सुमदाय र सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएको बताए । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सहकारी ऐन नियमका साथै आन्तरिक नीति तथा कार्यविधिलाई पालना गरेर वित्तीय कारोबार गर्दै आएकाले निरन्तर वित्तीय सुचाकाङ्कमा वृद्धि भएको उनले बताए । कतिपय सहकारी संस्थामा तरलता अभाव रहेको अवस्थामा संस्थाप्रति सदस्यहरुले गरेको विश्वासका कारण अधिक तरलता रहेको र सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । तरलताको अनुपातमा ऋणको मागमा कमि आएका कारण गत बर्ष नाफामा समेत केही संकुचन आएको उनले सभामा जनाए । समयाअनुकुल ब्याजदर परिमार्जन गरी सुरक्षित ऋण लगानी वृद्धिका लागि संस्थाले प्रयास गरेका कारण यस आर्थिक बर्षमा ऋण लगानीमा सकरात्मक वृद्धि भएको उनको भनाई छ ।

शहरमा खुलेका केही सहकारी संस्थाले ऐन कानुनलाई पालना नगरी जथाभावी बचत संकलन गरी मनोमानी तवरले बचत परिचालन गर्दा समस्या आएको उनको भनाई छ । गलत प्रवृतिलाई चिर्दै सहकारी अभियानका राम्रा पक्षलाई बाहिर ल्याएर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लाग्ने अध्यक्ष श्रेष्ठले बताए । समुदायमा आधारित भई वित्तीय कारोबार गरेका कारण सदस्यहरुको निरन्तर विश्वासले गर्दा भक्तपुर जिल्लाकै उत्कृष्ट संस्था बन्न सफल भएको उनले बताए । संस्थाको कारोबारलाई सुरक्षित राख्न क्लाउड व्याकअप राखिएको र प्रविधिलाई थप परिस्कृत गरी सदस्यहरुलाई सहज रुपमा सेवा दिने उनले सभामा जानकारी दिए । संस्थाले यस आर्थिक बर्षमा आवश्यकता अनुसार शेयर पुँजी वृद्धि गर्ने, सदस्य बीमा कार्यक्रम सञ्चालन गर्ने,सहकारी शिक्षा ,तालिम र जेष्ठ सदस्यलाई नगद सहित सम्मान गर्ने जस्ता कार्यक्रम गर्ने उनले जनाए । संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आर्थिक बर्ष २०८०।८१ बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत बर्ष जेष्ठ सदस्य सम्मान, सहकारी अवलोकन भ्रमण,सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान,सञ्चालक, कर्मचारी तथा ऋण व्यवस्थापन जस्ता तालिम आयोजना गरिएको बताए । संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक बर्ष २०८०। ८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, जगेडा कोष ७ करोड २५ लाख, बचत संकलन १ अर्ब ८३ करोड २७ लाख र ऋण लगानी १ अर्ब ३४ करोड १९ लाख पुगेको बताए ।

संस्थामा ५ हजार ६ सय ९८ सदस्य आवद्ध रहेका छन् भने गत आ.ब.मा संस्थाले ३ करोड ३३ लाख २० हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले गत आ.ब.मा १ करोड ३१ लाख ९५ हजार राजश्वमा योगदान गरेको छ । साधारणसभाको अवसरमा सामुदायिक विद्यालय आदर्श मा.विमा अध्ययनरत रिकेश रञ्जितकार, दिया श्रेष्ठ र बालप्रेमी माविका प्रिंयका कुमारी र समर्पण विकलाई छात्रवृति प्रदान गरेको थियो भने ,जेष्ठ सदस्यहरु लक्ष्मीकुमार साछें श्रेष्ठ, पुर्ण प्रजापति,गणेशमाँया श्रेष्ठ,तेजमाँया प्रजापतिहरुलाई दोसल्ला र नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । साथै एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान,पिएचडी तथा स्नात्तकोतर उत्तीर्ण सदस्यहरुलाई सम्मानका साथै प्रशिक्षकहरुलाई कदर पत्र र अतिथीहरुलाई माँयाको चिनो प्रदान गरिएको थियो । सभामा संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले २०७० सालदेखि कुशलतापूर्वक व्यवस्थापनको जिम्मेवारी पुरा गरेकोले कदरपत्रले सम्मान गरिएको थियो भने २ जना कर्मचारी प्रविण श्रेष्ठ र नानीकेशरी प्रजापतिलाई नगद सहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । सभामा जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला, संस्थाका पुर्व अध्यक्ष एवं भक्तपुर बचत संघका सञ्चालक पंचकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *