शुभश्री साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्व एवं मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले संस्था समुदायमा आधारित भएको जनाउँदै बजारमा देखिएका कतिपय सहकारीमा तरलताको समस्या भएपनि शुभश्री भने त्यसप्रकारका समस्याबाट टाढै रहेको जनाए । संस्थाले पारदर्शी हिसाबकिताबका लागि कम्प्युटरकृत लेखा प्रणाली अवलम्बन गरेको, सदस्यको सुविधाका लागि स्मार्ट बैंकिङ प्रणाली अवलम्बन गरेको र वित्तीय कारोबारलाई मात्र नभई समुदायको हितलाई सदैव प्राथमिकताका राख्दै आएको उल्लेख गरे । संस्थाले सदस्यहरुलाई धार्मिक भ्रमण, सरसफाई तथा वृक्षारोपण, झोल साबुन बनाउने तालिम सञ्चालन गर्नुका साथै संस्थाका पदाधिकारी र कर्मचारीहरुको क्षमता वृद्धिका लागि विभिन्न १८ वटा कार्यक्रममा संस्थाको तर्फबाट सहभागि भएको जानकारी गराए ।

संस्थाका कोषाध्यक्ष तुलसीमान श्रेष्ठले २०८०।८१ को आर्थिक विवरण प्रस्तुत गर्दै असार मसान्तसम्म उनले गत आर्थिक वर्ष २०८०।८१मा संस्थाको शेयरपुँजी स्थिर रहेको, निक्षेपमा १२.९७ प्रतिशत वृद्धि भएको र ऋण लगानी १०.७० प्रतिशतले न्यून भएको जानकारी सभालाई दिए । त्यसैगरी संस्थाले त्यस अवधिमा संस्थाले खुद बचतमा १४ प्रतिशतले वृद्धि गरेको छ । गत असार मसान्तसम्म संस्थाको शेयर लगानी ४ करोड ६९ लाख ५६ हजार, जगेडा तथा अन्य कोषहरुमा २ करोड ५० लाख, निक्षेप ३१ करोड ३० लाख र ऋण लगानी २१ करोड २६ लाख गरी खुद बचत ३२ लाख ९० हजार पुगेको छ । संस्थाका लेखा सुपरीवेक्षक समितिका संयोजक गोपाल न्हा श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको पल्र्स विश्लेषण सन्तोजनक भएको भन्दै संस्थामा मौजुदा तलरतालाई व्यवस्थापन गर्न नयाँ नीति ल्याउन सुझाव दिए । निक्षेप संकलनका नयाँ योजना ल्याउनुका साथै उत्पादनमूलक नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव उनले दिएका थिए । साथै एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा,छोरी र जेष्ठ शेयर सदस्य १ जना पुरुष र १ जनालाई सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *