फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ । समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएको गीतको भिडियोमा फिल्मका कलाकार प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । गीतले फिल्मको कथा केही हदसम्म बुझाएको छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ । समर निरौलाको निर्देशनमा डेव्यु फिल्म ‘ममी’ हरर फ्यामिली ड्रामामा बनेको हो । परिवारको प्रिय कुकुरको दुःखद निधन पश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढङ्गले परिवारमा निम्तिने काला विपत्तिको शृङ्खला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथामा फिल्म बनेको हो । माघ २५ गते रिलिज तयारीमा रहेको फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् । फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन ।