शक्तिशाली भूकम्पले हल्लाए पनि नेपालका यी जिल्लाको स्थिति सामान्य

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा : भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के-कति क्षति भयो भन्ने यकिन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए । 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का : भूकम्पबाट अहिलेसम्म भौतिक तथा  मानवीय  क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठुलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइराला: भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए ।

भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेत : उनले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के-कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *