रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त
काठमाडौं । पाँचतारे होटल रोयल टुलिप काठमाडौंको महाप्रबन्धकमा बलराम पाठक नियुक्त भएका छन्। गुण ग्रुपद्वारा निर्माण गरिएको द म्यासिफ होटलका महाप्रबन्धक रहेका पाठकलाई रोयल टुलिपले सोही जिम्मेवारी सुम्पेको हो। रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकायाले दुई पक्षीय सम्झौताका क्रममा पाठकलाई महाप्रबन्धकको जिम्मेवारी दिने घोषणा गरेका थिए। सोही अनुसार उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको होटलले जानकारी दिएको छ। रोयल टुलिपले पहिलो पटक काठमाडौंमा आफ्नो उपस्थिति जनाएको छ। ३० वर्षभन्दा लामो होटल व्यवस्थापन अनुभव भएका पाठक यसअघि सोल्टी होटलबाट द म्यासिफ होटलमा आबद्ध भएका थिए।
उनी नेपाली होटल उद्योगमा कुशल व्यवस्थापकको रूपमा परिचित छन्। करिब ६ अर्ब रुपैयाँको लगानीमा निर्माण भई सञ्चालनको तयारीमा रहेको यो होटलमा ३०२ वटा कोठा छन्। पहिलो चरणमा बैंक्विट हल, मिटिङ हल, र केही कोठा सञ्चालन गरिनेछ। आगामी ६ महिनाभित्र होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ। सन् २००४ मा द क्राउन प्लाजा काठमाडौंबाट ‘मोस्ट आउट स्टाण्डिङ डाइरेक्टर अफ एसिया एण्ड प्यासिफीक’मा मनोनित भइसकेका उनलाई सन् २००५ मा इन्टरकन्टिनेन्टल होटल ग्रुपले ‘मोस्ट आउटस्ट्याण्डिङ होटल ग्रुप’को उपाधि पाएका थिए । उनले राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री पदक पनि प्राप्त गरिसकेक छन्। रोयल टुलिपको आगमनले नेपाली होटल व्यवसायमा थप प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।