आइसिएफसि फाइनान्सको ऋणपत्र विक्री खुला
काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो। फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा माघ २३ गतेसम्म समय थप गरिनेछ। फाइनान्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।