ट्रम्पलाई शुभकामना !

डोनाल्ड ट्रम्पलाई अमेरिकाले नयाँ राष्ट्रपतिको रूपमा स्वीकार गरेको छ । यस अघि एउटा निर्वाचनमा पराजित भएका ट्रम्प फेरि एक कार्यकालका लागि राष्ट्रपति बनेका छन् । यस अघि एक पटक राष्ट्रपतिको रूपमा काम गरिसकेका ट्रम्पले अनुदार वादीको छवि बनाएका छन् । युद्ध प्रिय अमेरिकी जनता र अमेरिकालाई विश्व नेताको रूपमा बुझ्ने अमेरिकीहरूले रुचाएका ट्रम्पले पहिलो कार्यकालमा युद्धमा अमेरिकालाई नझोक्ने राष्ट्रप्रमुखको रूपमा प्रस्तुत गरेका थिए ।

विश्वमा व्यापारिक साम्राज्य स्थापित गरिरहेको चीनको कट्टर विरोधी ठानिएका उनले चिनिया सामानमा भन्सार बढाउने आदि कार्य गरे पनि चीन बाहेकका दुनियाँसँग राम्रै सम्बन्ध बनाएका थिए । उत्तर कोरिया जस्तो अतिवादी मुलुकसँग समेत सुलहको प्रयास गरेर उनले आफ्नो अनुदार वादी छविलाई पखाल्ने कोसिस गरेका थिए । मेक्सिकोसँग खुल्ला सीमालाई नियन्त्रण गर्ने घोषणा गरेर पहिलो कार्यकालको लागि जितेका ट्रम्पले त्यसको लागि बजेट छुटाउने, काम प्रारम्भ गर्ने काम समेत भने जसरी गर्न सकेका थिएनन् । यस पटक पनि उनको त्यो एजेन्डा कायमै छ । उनले अमेरिकालाई एउटा सुपर पावरकै रूपमा जीवित राख्न विशेष गरी सशक्त र प्रभावकारी भूमिका खेल्ने दाबी गर्दै आएका छन् । त्यसको लागि उनले अध्यागमन कानुन र नीतिलाई प्रभावकारी बनाउनेमा जोड दिएका छन् । गैर कानुनी रूपमा अमेरिकामा बस्दै आउनेलाई अमेरिकाबाट हटाउने उनको कार्यक्रम यस पटक विशेष रूपले लागु गर्ने अनुमान सम्पूर्ण विश्वको छ । उनको अध्यागमन नीतिलाई लिएर धेरै अमेरिकीहरू आतङ्कित एवं त्रसित छन् । उनको काम गराइ कति कडिकडाउ हुन्छ भन्ने आधारमा नै बाँकी उनको कार्यकालको सफलता निर्भर रहन्छ । तर उनको सुरुवातले चाहिँ अमेरिका जुन सम्पूर्ण विश्वको आकर्षणको केन्द्रको रूपमा रहेको छ, त्यसमा धक्का लाग्छ कि भन्ने आशङ्का पैदा भएको छ ।

व्यापारी पृष्ठभूमिका ट्रम्प अमेरिकालाई सम्पन्न बनाउन चाहन्छन् । त्यसमा उनले युद्ध, फौजी क्षेत्रको लगानी र विश्वको तनावलाई कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनको मुख्य चासो रुस युक्रेन युद्ध रोक्ने तर्फ जाने आशा धेरैको छ । चुनाव कार्यक्रम आरम्भमै उनले त्यस तर्फ सङ्केत समेत गरिसकेका थिए । उनले नेटो माथि गरिरहेको खर्च रोक्ने आशयले पनि युद्ध प्रिय अमेरिकालाई दुनियाँको शान्ति दूत बनाउन सक्ने सम्भावना तर्फ अग्रसर गराएको हो कि जस्तो देखिँदै छ । उनले अमेरिकालाई बाँकी विश्वभन्दा अलग्गै सम्पन्न र सक्षम राष्ट्रको रूपमा खडा गर्न कदम चाल्ने कोसिस त गर्छन् साथसाथै अमेरिका भनेपछि हिंसा, द्वन्द्व, आक्रमण र दुनियाँको ठालु शासक बन्न खोज्छ भन्ने धारणामा परिवर्तन ल्याउन खोजे र त्यसमा अपेक्षित सफलता हासिल गरे भने उनको अहिलेको छवि पनि सुध्रिने स्थिति आउन सक्छ । शान्तिप्रिय हिमाली देश नेपालका बासिन्दा हामी पनि अमेरिका न्याय, शान्ति र स्वतन्त्रताको पक्षमा खडा होस भन्ने चाहन्छौँ । नयाँ राष्ट्रपतिको रूपमा ट्रम्पको बाटो पनि त्यही हुनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *