एपीएफ क्लबलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि
धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । योसँगै एपीएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पायो । सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रुपैयाँ हात पार्यो । ६८ रनको विजयी लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्माले नटआउट १८ रन जोडिन् । यसअघि, फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटिएको थियो । ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ बाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई,दुई विकेट हात पारे ।
कविता ‘प्लेयर अफ द म्याच’ चुनिइन् । प्रतियोगिताभर व्यक्तिगत १७२ रन र पाँच विकेट लिएकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भइन् । एपीएफका निम्ति २०९ रन बनाएकी ममता चौधरी ‘वेस्ट ब्याटर’ र वाग्मती प्रदेशका लागि १० विकेट लिएकी मनीषा उपाध्याय ‘बेस्ट बलर’ घोषित भए । प्लेयर अफ द सिरिजले ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरले २५,२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यही माघ १ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमानुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीसहित खेलाडीको उपस्थिति थियो । रासस