नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता
काठमाण्डौं । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ । भारतको मुम्बई स्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो । नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरे । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया बीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्घि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ ।
लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एशोशिएशनहरूबीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औं सम्झौतामा हस्ताक्षर गर्दा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोजकुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरु लेखनाथ पोख्रेल र सन्दिप कार्कीको उपस्थिति रहेको थियो ।