ब्रेक लगाइएका कामलाई थ्रु गरेका छौं- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाको व्यापार गर्नेहरूका लागि सरकारले सुखद् खबर नदिइरहेको बताएका छन् ।

आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका, राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार सम्झनेका लागि यस्तो खबर सुखद होइन दुखद हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिलाई सामाजिक सञ्जालको खपतभन्दा पर गएर बन्दै गरेको नेपाललाई देख्न सक्छौं ।’

त्यस्तैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले थुप्रै कामको ब्रेक थ्रु गरेको बताएका छन् । प्रधानमन्त्रीले थालेका कामलाई सकाउन प्राथमिकतापूर्वक काम गरेको भन्दै नतिजा दिन थालेको बताए । ‘सरकारको प्राथमिकता थालेको काम सकाउने हो । खेल हाम्रा युवाहरूको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ, तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ,’ ओलीले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद सन्देश हो । विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।’ ओलीले काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ ब्रेक थ्रु भएको, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडक मार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *