ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्‍यो महँगो

चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्‍यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र आफ्नै खानेकुराको कचौरामा पिसाब फेर्नु उक्त कुकुरका लागि महँगो सावित भयो । त्यसकै सजाय स्वरुप फुजाईको वार्षिक बोनस कट्टी गरिएको हो । सन् २०२३ को अगष्ट २८ मा जन्मिएका फुजाईलाई केवल दुई वर्षको उमेरमै शेंडोंग प्रान्तस्थित वेइफांग पुलिस कुकुर तालिम केन्द्रमा भर्ती गरिएको थियो । चांगले काउन्टी पब्लिक सेक्योरिटी ब्युरोका प्रशिक्षक झाओ किंगशुआईले उक्त कुकुरलाई एक पार्कमा देखेका थिए र त्यसमा पुलिस कुकुर बन्ने क्षमता रहेको उनले भेउ पाए । तत् पश्चात् उनले बम पत्ता लगाउने तालीम उक्त कुकुरलाई दिए । अन्ततः गतवर्षको जनवरीबाटै उसले विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरको रुपमा काम गर्न सुरु गर्‍यो । फुजाईको माया लाग्दो अनुहार तथा सानो कदले उसलाई चीनमा छिटै नै इन्टरनेट जगतको स्टार बनाइदियो । गत अक्टोबरमा उसले आधिकारिक रुपमा पुलिस कुकुरको रुपमा आफ्नो तालीम पूरा गर्‍यो । सोसल मिडियामा रहेको कर्गी पुलिस डग फुजाई एण्ड इट्स कमरेड्स नामक अकाउन्टमा उसका गतिविधिहरु शेयर गर्ने गरिएको छ। फुजाईको उक्त सोसल मिडिया अकाउन्ट वेइफांग पब्लिक सेक्योरिटी ब्युरोले व्यवस्थापन गर्ने गरेको छ । फुलाईले गतवर्षको जनवरी १९ मा आफ्नो उपलब्धिको खुसी मनाएको थियो । उसलाई रातो फूल, खानेकुरा तथा खेलौनाहरु दिएर सम्मान गरिएको थियो । एकजना पुलिस अधिकारीले उसको मिहिनेतको सम्मान गर्दै उसले निकै सानदार काम गरेको बताएका थिए । तर, पछिल्ला दिनमा फुजाईका गतिविधि राम्रा रहेनन् । ड्युटीका क्रममा सुत्नु र खानामा पिसाब गरेका कारण उसलाई सजाय दिइयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *