पारिजात साकोसद्वारा कटुञ्जे स्वास्थ्य चौकीलाई ईसीजी मेसिन हस्तान्तरण
भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको कटुञ्जे स्वास्थ्य चौकी, कटुञ्जे, भक्तपुरलाई ईसीजी मेसिन हस्तान्तरण गरेको छ। पारिजात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टंकराज काफ्लेले ईसीजी मेसिन सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कटुञ्जे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजकुमार जोशीलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा जिल्ला संघ भक्तपुरका अध्यक्ष तथा पारिजात सहकारी संस्थाका निवर्तमान अध्यक्ष ध्रुवबहादुर रायमाझी र घट्टेखोला खानेपानी समितिका निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुले मन्तव्य राख्नुभएको थियो। त्यस्तै, कटुञ्जे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष श्रीमती गीता बिशुंखेले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख श्रीकृष्ण अधिकारीले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजकुमार जोशीले पारिजात साकोससँग साझेदारीमा विभिन्न कार्यक्रम गर्न सकिने अपेक्षा व्यक्त गर्दै पारिजात साकोसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। संस्थाका विभिन्न समिति तथा उप समितिका पदाधिकारी तथा सदस्यहरू र सु.न.पा. वडा नं.५ का जनप्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रम कटुञ्जे स्वस्थ्य चौकीको प्राङ्गणमा गरिएको थियो ।