संघको वित्तीय अवस्था प्रगतिउन्मूख छ, कोही विचलित हुनुपर्ने अवस्था छैनः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले आफ्ना वित्तीय विवरणहरु प्रगतिउन्मुख भएको दाबी गरेको छ । नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०७९।८० को अन्तिम लेखापरिक्षण यताका सबै वित्तीय विवरणहरु सुधारोन्मुख रहेको दाबी गरे। स्वयं नियमनकारी निकाय सहकारी विभागको प्रतिवेदनले पनि संघको अवस्था संतोषजनक बताइसकेको अध्यक्ष ढकालले बताए । केहि समय अघि सहकारी विभाग र नेपाल राष्ट्र बैंकले गरेको संयुक्त अनुगमनको आधारमा संघको पर्फमेन्स र पछिल्लोपटक विभागले गरेको फलोअप अनुगमनले पनि संघको समग्र वित्तीय अवस्था सन्तोषजनक तथा सुधारोन्मुख रहेको देखाइसकेको अध्यक्ष ढकालले दावी गरे । ‘विभागले गरेका दुईवटा अनुगमन प्रतिवेदनले हाम्रो वित्तीय अवस्था स्पष्ट चित्रण गरेका छन्,’ अध्यक्ष ढकालले भने ‘नियामक निकाय हाम्रो प्रोग्रेसबाट सन्तुष्ट छ । ’ अध्यक्ष ढकालले सहकारीका मूल्य, मान्यता र सिद्धान्त, बचत ऋण सहकारीका सञ्चालन सिद्धान्त, वित्तीय मापदण्ड तथा सरकार एवम् नियामक निकायका निर्देशनहरुलाई संघले अक्षरशः पालना गर्दै आएको उल्लेख गरे । ‘‘हामीले नक्कली विवरण बनाएका छैनौं । अडिटरले दिएको रिपोर्टमा कहीकतै म्यानिपुलेशन गरेका छैनौं । नाफा बाँढ्ने भनेपनि नियमनकारी निकायले सुझाव दिएपछि रोकेका छौं,’ अध्यक्ष ढकालले भने, ‘हिजोको अवस्थाबाट उल्लेख्य सुधार गर्नु, सुझाव र निर्देशनहरु पालना गर्नु भनेको हामी कैद सजायको भागेदार हुनु हो र रु सुधार गर्ने विषय कसरी दण्डनीय हुन्छ । कन्डिशनल क्लज प्रयोग गरेर यसो गरेमा यसो हुने भन्ने विषयले के अर्थ राख्छ रु’अध्यक्ष ढकालले भने,‘कोभिडदेखि सुरु भएको प्रतिकूलता, तरलता संकट, समग्र मुलुकको अर्थतन्त्रमा आएको संकुशन र त्यसपछि सदस्य संस्थाहरुमा देखिएका समस्याहरुकाबीच यो सञ्चालक समितिले निर्मम भएर रिकभरीमा लागेको दाबी संघले गरेको छ । नेफ्स्कुन हिँडेको बाटो सही रहेको, सदस्य संस्थालाई हानी हुने काम नगरेका छैनौं र सदस्यहरुको बचतको सुरक्षा नै पहिलो प्राथमिकता नेफ्स्कुनका पदाधिकारीको धारणा रहेको छ ।’ उनले भने‘ मन्त्रालयदेखि विभागसँगका हाम्रा सम्बन्धहरु हार्दिकतामा परिणत भएका छन् । सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड तथा निर्देशनमा समेटिएका धेरै सकारात्मक विषयहरुमा पनि संघको प्रभावकारी लबिङ भएको र तिनमा आवश्यक संशोधनका लागि समेत काम भैरहेको अवस्थामा सबै विषयहरु ओझेलमा पार्न संघ र समग्र साकोस अभियानलाई धमिल्याउने गरी भए गरेका प्रयासबाट दिग्भ्रमित नहुन र नेफ्स्कूनका सेवाहरुमा जोडिन देशभरका सबै सदस्यहरुलाई म विनम्र आग्रह गर्छु ।’ संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले संघको सर्वोच्च निकाय साधारण सभामा पेश भएका वित्तीय विवरणहरु, लेखा परिक्षकले दिएका प्रतिवेदनहरु कुनै किसिमले तोडमोड गरी सदस्यको अहित हुने कार्य संघ सञ्चालक समितिबाट नभएकोले सदस्य संघ संस्थाहरुलाई आश्वस्त रहन आग्रह गरेका छन् ।

सदस्यहरुको बचतको सुरक्षा संघको पहिलो प्राथमिकता भएको बताउँदै त्यसका लागि सुरक्षित ऋण लगानीलाई जोड दिएको पनि उनले जनाए । परिस्थितिजन्य प्रतिकूलताले उब्जाएका लगानीहरु अहिले राम्रोसँग रिकभर भैरहेको उनले जानकारी दिए। ‘सम्पत्ति व्यवस्थापनबाट पनि रिकभरी भएको छ । हाम्रो वित्तीय अवस्था संघको वेबसाइटमा उपलब्ध छ, नियामक निकालाई पनि मासिक बुझाएका छौं,’ नेफ्स्कूनका प्रवक्ता समेत रहेका बरिष्ठ उपाध्यक्ष अधिकारीले भने, ‘साधारण सभामा जस्ताको तस्तै प्रस्तुत गरिएको छ । हामीसँग अहिले हाल १ अर्ब १३ करोडको गैर बैंकिङ सम्पति छ । प्राथमिक पुँजी कोष २ अर्ब १० करोड रहेको छ भने तरलता ४८.६८ रहेको छ । विभिन्न कोषहरुमा गरी कुल ७० करोड ८१ लाख बढी रकम छ । परिस्थितिजन्य प्रतिकूलताले उब्जिएका कमजोरीहरु सुधार भएका छन् । तर, तीसौं वर्ष अभियानमा पसिना बगाएका हामीहरुबाट गलत काम कहिल्यै हुँदैन भन्नेमा कम्तिमा सदस्यहरु विश्वस्त हुनुुहुन्छ भन्ने लाग्छ ।’ बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रश्न गरे, ‘अवस्था राम्रो हुँदै जानु चिन्ताको विषय हो र रु पक्कै होइन ।’स्थिरिकोष कोषमार्फत सदस्यहरुको गैरस्थलगत जोखिम सुपरिवेक्षणका कामहरु सुरु भएका छन् जसलाई तालुकदार मन्त्रालयले पनि सरकारले गर्ने काम संघबाट भयो भनेर तारिफ गरिसकेको छ । बरिष्ठ उपाध्यक्ष अधिकारीले भने‘ विभागले भनेको विषयलाई र दिएका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लगेको अवस्था छ । रिकभरीका लागि टास्कफोर्सले अहोरात्र खटिएर काम गरेको छ । कामको नतिजापनि राम्रो छ । ‘हामीले डाटा म्यानिपुलेट पनि गरेका छैनौं । अङ्क वा अक्षर हटाएको, झिकेको थपेको केही छैन ।’बरिष्ठ उपाध्यक्ष अधिकारीले पनि संघले संस्थागत सदस्य भन्दा बाहिर लगानी नगरेको, सञ्चालकहरुले ऋण लिएर भाखा ननघाएको प्रष्ट पारे। ऋणको भाखा नाघ्नु परिस्थितिजन्य विषय भएको बताउँदै आन्तरिक भन्दा बाहिर वातावरणहरु कारक हुने उनले उल्लेख गरे । संघका महासचिव घनश्याम अधिकारीले संघको नीति कार्यक्रम मार्फत बुटवलमा भएको ३३औं वार्षिक साधारण सभामा आम सदस्यहरुलाई वास्तविक वित्तीय स्थिति उजागर गरेको र प्रतिनिधिहरुमार्फत त्यसमा सबैल ओनरशीप लिएको जनाए । उनले भने ‘त्यति हुँदाहुँदै पनि विभागको निर्देश अनुसार प्रर्याप्त प्रोभिजन नहुँदासम्म लाभांश वितरण स्थगन गर्नु भनिएकोले हामी सोही प्रक्रियाभित्र रहेका छौं । हामी सधैं अभियानको हितमा अभियानलाई साक्षी राखेर काम गर्छौं । त्यसबाहेक एक इन्च पनि तलमाथि दायाँबायाँ हुँदैन । परिस्थितजन्य घटनाक्रम र परिवेशले परेको अफ्ठ्यारो हामी सुधार्दै छौं ।’ उनले थपे, ‘‘बाहिर आएका विषयले सदस्यलाई हतोत्साही गरेको अनुभूति गरेका छौं ।’ संघका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारी यस्तो अवस्थामा सहकारी ऐन २०७४ को दफा १२२ र १२४ आकर्षित नहुने बताउँछन् । अधिकारीले भने, ‘अडिटरको रिपोर्टमा कही कतै म्यानिपुलेसन गरेको अवस्था होइन । लाभांश बाँड्ने निर्णय पनि कार्यान्वयनमा गएको छैन । विभागको निर्देशन कार्यान्वयन भएको छ । यस्तोमा सहकारी ऐन २०७४ को दफा १२२ र १२४ आकर्षित हुने अवस्था यो होइन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *