सेनाको जहाजमा ४० घन्टा हातखुट्टा बाँधेर आप्रवासी फिर्ता गरेपछि भारतमा ट्रम्पविरोधी आक्रोश
काठमाण्डौं । अमेरिकाले आप्रवासी फिर्ता पठाउँदा अमानवीय व्यवहार गरेको भन्दै भारतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएका छन्। बुधबार अमेरिकाले अवैध रूपमा त्यहाँ बसिरहेका १०४ जना भारतीय आप्रवासीहरूलाई सेनाको जहाजमा हालेर फिर्ता गरेको थियो। अवैध आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज बुधबार भारतको अमृतसरमा अवतरण भएको थियो। जहाजमा ल्याइएका आप्रवासीहरूमाथि अमानवीय र अपराधीसरह व्यवहार गरेको भन्दै त्यसको भोलिपल्टदेखि नै भारतमा ट्रम्पको विरोध सुरू भएको हो। ती आप्रवासीहरूलाई हतकडी लगाइएको थियो भने खुट्टामा समेत नेल लगाइएको थियो। अमेरिकी सञ्चारमाध्यम सिएनएनले प्रसारण गरेको भिडिओमा भारतीय आप्रवासीहरू हात खुट्टा बाँधिएको अवस्थामा जहाजतर्फ लागेको देखाइएको छ। भिडिओमा २३ वर्षीय आकाशदीप सिंहले ४० घन्टाको उडानको समयभरि त्यसरी नै आफूहरूमाथि हतकडी र खुट्टामा नेल बाँधिएको बताएका छन्।। ‘महिलाहरूमाथि पनि त्यस्तै व्यवहार भयो। ४० घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाइयो। खाने बेलामा र बाथरूम जाँदा पनि खोलिएन,’ सिएनएनको उक्त भिडिओमा आकाशदीपले भनेका छन्। फ्लाइटमा कैयौंले हतकडी खोल्न सेनासँग अनुरोध गरेका थिए। तर उनीहरूले सुनेकानसुन्यै गरेको आकाशदीप बताउँछन्। ‘हामीलाई उनीहरूले यसरी हेर्थे त्यो जीवनभर बिर्सन सकिँदैन। हातमा हतकडी र खुट्टामा सिक्रीले बाँधेकै अवस्थामा कष्टपूर्ण तरिकाले बाथरूम गयौं,’ उनले भिडिओमा भनेका छन्। उनका अनुसार जहाज अवतरण गर्नुभन्दा केही समयअगाडि मात्रै त्यहाँ रहेका अधिकारीहरुले हतकडी र सिक्री खोलिदिएका थिए। अमेरिकाले डिपोर्ट गरेका अर्का भारतीय ३५ वर्षीय शुकपाल सिंहले पनि आफूहरूलाई अपराधीसरह व्यवहार गरिएको बताएका छन्। ४० घन्टासम्म हलचल गर्न दिइएन। खुट्टा सुन्निएर असह्य भएर उठ्न खोज्दा थर्काएर बस्न लगाउँथे,’ उनले भनेका छन्। अमेरिकाले भारतीय नागरिकहरूलाई क्रूर र अमानवीय व्यवहार गरेको भन्दै शुक्रबार भारतका विभिन्न ठाउँहरुमा प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरुले ट्रम्पको पुत्लासमेत जलाएका थिए। घटना सार्वजनिक भएपछि विपक्षी दलका सांसदहरुले संसद भवन बाहिर शान्तिपूर्ण धर्ना दिएका थिए। धर्नामा भारतीय संसदका नेता प्रतिपक्ष राहुल गान्धीलगायत पनि सहभागी थिए। ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच घनिष्ट मित्रता रहेको चर्चा भारतभित्र पनि छ। मोदीलाई ट्रम्पले अमेरिका भ्रमणको निम्तासमेत दिएका छन्। यो घटनापछि भने भारतमा प्रदर्शनकारी र विपक्षी दलका नेताहरूले मोदीको चर्को विरोध गरेका छन् भने ट्रम्प र मोदीबीचको ‘तथाकथित’ घनिष्ट मित्रताको खिल्ली उडाइएका छन्। आफ्ना नागरिकहरूलाई अमेरिकाले अपराधीसरह व्यवहार गर्दा भारतको सरकारले कुनैपनि प्रतिक्रिया नजनाएको भन्दै प्रदर्शन अझै उग्र बनिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकामा चार वर्षको अवधिमा अवैध भारतीय आप्रवासीको संख्या ९६ हजारभन्दा बढी रहेको बताइन्छ। ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अवैध आप्रवासी फिर्ताको नीतिमा कडा प्रस्तुत भएका छन्। त्यस्ता आप्रवासीहरूको खोजी गर्न ट्रम्पको निर्देशनमा त्यहाँको अध्यागमन विभागले ‘क्रिमिनल एलियन’ नाम दिएर अपरेसन चलाइरहेको छ। अवैध आप्रवासी फिर्ता लिन नमाने ट्रम्पले त्यस्ता मुलुकमाथि भन्सार दर बढाएर बाध्य पार्ने गरेका छन्। आप्रवासी फिर्तालाई ट्रम्पले अमेरिकासँग राम्रो सम्बन्धसँग पनि सम्झौता गरेका छैनन्। केही साता अगाडि ल्याटिन अमेरिकामध्येकै राम्रो सम्बन्ध रहेको कोलम्बियासँग अमेरिकाको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। त्यतिबेला अमेरिकाबाट कोलम्बियन आप्रवासी बोकेर गएको सेनाको जहाजलाई कोलम्बियाका राष्ट्रपतिले अवतरणमा रोक लगाएका थिए। कोलम्बियाले नागरिक उड्डयनको जहाजमा राखेर ल्याउन र आफ्ना नागरिकहरूमाथि भद्र व्यवहार गर्न चेतावनी दिएको थियो। त्यसपछि रिसाएका ट्रम्पले तत्कालै कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत भन्सार लगाए। कोलम्बियाले जबाफमा २५ प्रतिशत भन्सार लगाएको थियो तर अन्तिममा सेनाकै जहाजमा आप्रवासी फिर्ता गर्न दिन तयार भएको थियो।