‘जनयुद्ध दिवस’ मनाउन माओवादीको सर्कुलर
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् । सम्पूर्ण समितिहरूले आ–आफ्नो ठाउँको सापेक्षतामा जनयुद्धको गौरवलाई अझ उच्चो पार्दै मनाउन सर्कुलरमा भनिएको छ । यस्तै जनयुद्धले उठाएका मुद्दाहरूलाई वास्तविक जनताका मुद्दाहरूसँग जोडेर मनाउन समेत सर्कुलर गरिएको पुनले बताए । माओवादीले जनयुद्धको ३०औँ वार्षिकोत्सव फागुन १ अर्थात बिहीबार मनाउँदैछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु गरेको थियो ।
जुन २०६३ सम्म चलेको थियो । माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो । २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो । पछिल्लो समय सर्वोच्च अदालतले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नु भनेर आदेशसमेत दिएको थियो । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेकोमा माओवादीका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । यसो त केही स्थानीय तहहरूले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् ।