इमेज सहकारीले फिर्ता गर्‍यो साना बचतकर्ताको ४ करोड रकम

काठमाण्डौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरेको जनाएको छ। सो संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरेको हो । सहकारीपीडित सङ्घर्ष समितिको अगुवाइमा एक लाख रुपियाँभन्दा कम बचत गर्ने सदस्यहरूलाई सरकारी वकिलका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता फिर्ता गरिएको हो । पहिलो चरणमा सानो रकम रहेका बचतकर्तालाई फिर्ता दिए पनि समय मिलाएर ठुला बचतकर्ताको पनि रकम फिर्ता गर्ने योजना बनाएको सहकारीपीडित सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताएका छन्। ठुलो रकम फिर्ता गर्न भने सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नाममा रहेका अचल सम्पत्ति बिक्री गर्नुपर्ने उनले बताए । त्यसका लागि केही समय कुर्नुपर्ने सङ्घर्ष समितिका अध्यक्ष कार्की जनाउँछन् ।

सहकारीका अध्यक्ष नेपालीको नाममा दुई दर्जनभन्दा बढी स्थानमा जग्गा तथा घर रहेकाले ती बेचेर तरल सम्पत्ति बनाउनुपर्ने उनले जनाए । यसअघि ढोरपाटनका ९२ जना बचतकर्ताले ३७ लाख रुपियाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेजपीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले बताएकी छिन् । जिल्ला अदालत बागलुङले एक महिनाअघि नै मुद्दा फिर्ता लिन चाहने बचतकर्ताका लागि मेलमिलापको बाटो खोलिदिएको थियो । सोही आधारमा मेलमिलाप भएकाहरुले रकम फिर्ता पाएका हुन् । नेपालीले एक अर्ब ५४ करोड रुपियाँ हिनामिना गरेको आरोपमा अदालतमा जाहेरी परेकोमा झण्डै २३ करोड रुपियाँ बराबरका बचतकर्ताले मेलमिलाप गरिसकेका छन् । संस्थाका अध्यक्ष नेपालीविरुद्ध सहकारी ठगी मुद्दा भने निरन्तर चलिरहेको छ । गत असोजमा पक्राउ परेपछि जिल्ला अदालतले निजलाइ पुर्पक्षका लागि पठाएकोले थुनामा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *