लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ विद्यार्थी दीक्षित
काठमाण्डौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यस वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन्। मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी आइटीएम, एमबिए, बीबीएम र बिएस्सी आइटीमा ७६ जना विद्यार्थी दीक्षित भएका हुन्। काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदीप सिंहले विद्यार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २६ वर्षको इतिहासमा १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्। दीक्षान्त समारोहमा अध्यक्ष जालानले फाउण्डेशनले प्रदान गर्ने शिक्षाले विद्यार्थीहरूलाई जीवनका हरेक चुनौतीहरूसँग जुध्न सक्षम बनाउने विश्वास व्यक्त गरे। ‘तिमीहरूको जीवनको एउटा खुड्किलो आज पार भएको छ। आगामी दिनमा जुध्नुपर्ने हरेक परिस्थितिमा यहाँ सिकेको सिप प्रयोगमा आउनेमा आशावादी छु।
त्यसैगरी, एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदीप सिंहले एआई केवल प्रवृत्ति भएको उल्लेख गर्दै मानवमा रहेको भावना, अनुभूति, र आत्मीयतालाई प्रतिस्थापन गर्न नसक्ने बताए। उनले दीक्षित विद्यार्थीहरूलाई प्रविधिसँगै मानवीय पक्ष, भावना, र संवेदनशीलतालाई जोगाउँदै अघि बढ्न आग्रह गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको संवाहकका रूपमा लिइने बताउँदै विद्यार्थीहरूलाई स्वागत गरे। उनले लर्डबुद्ध एजुकेशन फाउण्डेशनलाई नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गर्दै आइटी मिटिङ, सेमिनार, र एक्स्पो आयोजना गर्न आग्रह गरे। साथै, फाउण्डेशनबाट उत्पादन भएका जनशक्तिको रोजगारी व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।