विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ ।
तर, सुदूरपश्चिम र कर्णालीको जति छैन, मौसमविद् अधिकारीले भने, वाग्मतीदेखि कोसी प्रदेशसम्म भने यो प्रणालीको असर कम पर्नेछ । बुधबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणाली अबको चौबीस घण्टासम्म रहने उनले जानकारी दिए । भोलि रातिबाट भने कम हुने उनको भनाइ छ । काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना छ । “काठमाडौं उपत्यकामा अपराह्नपछि छिटपुट वर्षाको सम्भावना छ । एकदुई स्थानमा छिटपुट वर्ष भए पनि धेरै स्थानमा भने वर्षा हुने छैन, मौसमविद् अधिकारीले भने, “काठमाडौंमा आज दिनभर आंशिकदेखि साधारणतया बदली रहनेछ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।