कुम्भमेलाबाट फर्किएका चार नेपालीको मृत्यु, ६ जना घाइते
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, कञ्चनरूप–५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका–१ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरूप–७ का वडाध्यक्ष समानन्द चौधरीले बताए । सोही गाडीमा सवार लीलावतीका श्रीमान् कञ्चनरूप–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक उपेन्द्रनारायण चौधरी, कञ्चनरूप–७ कै लालुदेवी यादव, कञ्चनरूप–५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन् । गोरखपुर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । तीन मृतकका छोरा शव लिन तीन एम्बुलेन्स लिएर गोरखपुरतर्फ प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिए । रासस