मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने,नेपालबाट मिस नेपाल प्रधानले सहभागिता जनाउने
काठमाडौं । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा बैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको छ । मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले, तेलङ्गानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे । मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ ।
२८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ । फिनाले मे ३१ (जेठ १७) गते हैदराबादमा आयोजना हुनेछ । मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलङ्गानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ । उद्घाटन र समापन समारोह हैदराबादमा हुनेछ । ७१ औं मिस वर्ल्ड दिल्ली र मुम्बईमा आयोजना भएको थियो ।