प्रथम बागमती प्रदेश सहकारी सम्मेलन हुँदै

काठमाडौं। बागमती प्रदेश सहकारी संघले ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को आयोजना गर्ने भएको छ । संघले आगामी चैत्र ८ र ९ गते ललितपुरमा दुई दिने सम्मेलन गर्न लागेको हो । बागमती प्रदेश भित्र रहेका सहकारी संघ÷संस्थाहरुको विद्यमान अवस्था, बजारमा देखिएका चुनौतीहरु र समाधानका उपाय खोजी गर्ने उदेश्यका साथ सम्मेलन गर्न लागिएको हो । त्यसैगरी सहकारी संघसंस्थाहरुको नियमन तथा अनुगमनको उचित व्यवस्था तथा आगामी कार्ययोजनाको बारेमा सुसूचित गराउने उदेश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा सहभागि हुन खल्ती वालेटबाट रजिष्ट्रेशन गर्न सक्ने व्यवस्था मिलाइएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले हरेक पाँच बर्षमा सम्मेलन आयोजना गर्ने उदेश्यकासाथ पहिलो पटक यस्तो सम्मेलन गर्न लागिएको बताए । सहकारीमार्फत् भएका उपलब्धी र कमजोरीहरुको समीक्षा गर्दै आगामी बाटो तय गर्ने उद्देश्य पनि सम्मेलनको रहेको छ । बागमती प्रदेशमा अहिलेसम्म यस्तो सम्मेलन नभएको र प्रदेशभरका १३ जिल्लाका सहकारीकर्मीहरुको सहभागिता सम्मेलनमा रहने उनले जनाए । हरेक ५ बर्षमा सम्मेलन गरिने र यो शुरुवाती भएको भन्दै उनले त्यस अवधिबीचमा भएको उपलब्धीको समीक्षा गरी आगामी कार्यदिशा तय गर्नको लागि पनि सम्मेलन आवश्यक रहेको उनको भनाई छ । अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सहकारीका नियामक निकाय एकै ठाउँमा भेला भएर छलफल नभएको र यो सम्मेलनमा तीनै तहका सहकारीका नियामक निकायलाई सहभागि गराउने योजना बनाएको उनले बताए । बागमती प्रदेशका ११९ स्थानीय तहका सहकारी हेर्ने कर्मचारीलाई समेत सम्मेलनमा सहभागी गराउने घिमिरे बताउँछन् । सम्मेलनमा विज्ञहरुबाट सहकारीको वर्तमान अवस्थाको बारेमा बुझ्नका साथै सल्लाहसुझाव दिन पाउने भएकाले सहभागिता जनाउन सबैलाई उनको आग्रह छ । सम्मेलनमा नीतिगत विषयमा पनि छलफल हुने र त्यसको कार्यान्वयनमा दवाव दिन सहयोगी बन्ने उनको विश्वास छ । हरेक जिल्लालाई कोटा निर्धारण गरिएको र सम्मेलनमा ५ सय प्रतिनिधि सहभागि गराउने उनले बताए । सम्मेलनमा संघ आवद्ध सदस्य र अन्य संघसंस्थाले पनि सहभागि हुन पाउनेछन् । संस्थाका सञ्चालक र कर्मचारी दुवै सम्मेलनमा सहभागि हुन सक्नेछन् । बागमती प्रदेशमा ८२ वटा जिल्ला तथा विषयगत संघ र २ वटा प्रदेश संघ रहेका छन् । त्यसका साथै सहकारी महासंघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैंकको समेत सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन संस्थाहरुबाट रजिष्ट्रेशन गर्ने क्रम बढेर गएको अध्यक्ष शर्माले बताए । न्यून शुल्कमा प्रभावकारी सम्मेलन गर्न लागेकाले स्वःस्फूर्त रुपमा सहभागि हुने क्रम बढेर गएको उनको भनाई छ । सम्मेलनबाट नाफा कमाउने भन्दा पनि उपलब्धीमूलक बनाउने योजना रहेको र ससानो कारोबार गर्ने, कृषि, दुग्ध, उत्पादन, महिला र उपभोक्ता सहकारी संस्थालाई समेट्नका लागि कम शुल्क राखिएको उनले बताए । बागमती प्रदेश सम्मेलन भएकाले बचत ऋणको मात्र संस्था सहभागि नगराई सबै प्रकृतिका सहकारी संस्थालाई सहभागि गराउने उदेश्यले कम शुल्क निर्धारण गरिएको उनले जनाए । हिमाली जिल्ल दोलखा, रसुवादेखि चितवनको माडीसम्मका सहकारीकर्मीलाई सम्मेलन सहभागी गराउने उद्देश्य रहेको उनको भनाई छ । प्रविधिमा जानुपर्छ र सहभागिले पनि रजिष्ट्रेशन गर्न संघसम्म आउन नपरोस् भनेर खल्तीसँग सहकार्य गरी सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । ग्रामीण क्षेत्रमा रहेका संस्थाहरुले जिल्ला संघहरुमार्फत रजिष्ट्रेशन गर्न सक्ने र १० जना सहभागि जुटाउने संघको तर्फबाट एक जना निःशुल्क सहभागि पठाउन सक्ने व्यवस्था गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । त्यसैगरी यो प्रदेशमा रहेका सहकारी बैंकका २७ शाखाले पनि सहजीकरण गर्ने र संघमा नै आएका सहभागीहरुलाई त्यहीबाट दर्ता गर्न सहयोग गर्ने उनले सुनाए । उपत्यका बाहिर रहेका सहकारी संस्थाहरु उत्पादनमा समेत लागेको र कृषि तथा दुग्धजन्य उत्पादनजन्य क्षेत्रमा उल्लेख्य भूमिका खेलेको उनको भनाई छ । सिन्धुलीमा जुनार, सिन्धुपाल्चोकमा कफी तथा चितवन र मकवानपुरमा दुधको उत्पादन तथा बजारीकरण गर्ने सहकारीहरु थुप्रै रहेको उनले बताए । सहकारीले सदस्यहरुलाई समेटेर स्वरोजगार बनाउनेदेखि उद्यमशिलता विकासमा ठुलो टेवा पु¥याएको उनको भनाई छ । उत्पादन र उद्यमशीलतालाई सम्मेलनमार्फत् उजागर गर्नुका साथै स्थानीय र प्रदेश सरकार मातहत रहेका सहकारी संस्थाको समस्या र चुनौतीका विषयमा समेत गहन छलफल हुने हुँदा यो सम्मेलनमा अरुभन्दा फरक हुने उनको दावी छ । सम्मेलनमा ५ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिने र वित्तीय जोखिमका विषयमा पनि छलफल गरी संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न पहल गर्ने उनले जनाए । राम्रा सहकारीलाई सुशासनमा हिँडाउन सघाउने र विश्वासको संकटले गर्दा समस्यामा परेका संस्थाहरुको समस्या समाधानको उपाय खोजी गरी निकासको बाटो तय गर्ने उनले जनाए । विश्वासको संकट झेलिरहेका संस्थाहरुलाई जोगाउनु अहिलको चुनौती रहेको र त्यसका लागि सहकारी बैंक र नेफस्कूनसँग वित्तीय सहजीकरणगर्न पहल गर्ने अध्यक्ष घिमिरको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *