राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाए
काठमाडौं । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी दल देखिएको छ । नेकपा एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँले बचत गएको हो ।
नेपाली कांग्रेस- कांग्रेस दुई वर्षदेखि निरन्तर घाटामा गएको विबरण पेश गरेको छ । नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा गएको छ । कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ ।
नेकपा माओवादी केन्द्र- माओवादीको आम्दानी घटेको देखिएको छ । माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । उसले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो । विवरण बमोजिम माओवादी केन्द्र दुई हजार ४४३ रुपैयाँले बचतमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपैयाँले घाटामा गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ उसको खर्च हो ।
एकीकृत समाजवादी- नेकपा एकीकृत समाजवादीको पनि आम्दानीभन्दा खर्च बढी देखिन्छ । निर्वाचन आयोगमा बुझाएको विवरण हेर्दा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ । यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ ।