एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित
काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका छन् । बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक बन्न उम्मेदारी दिएका पर्वतकुमार कार्की, सूर्यप्रकाश लाल श्रेष्ठ र किरणप्रकाश पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका हुन् ।सर्वसाधारण समूहतर्फ भने कविकुमार टिबरेवाला र शालिक राम बेल्वासे निर्वाचित भएका छन् ।
साथै, विकास थापा, बन्दना पाठक र बन्दना थापा भने पराजित भए । उम्मेदवारी दिएका बरुण श्रेष्ठले अन्तिम समयमा फिर्ता लिएका थिए । बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी दिएका थिए । आर्थिक वर्ष २०८०।८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८०।८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०।८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।