राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । कास्कीमा सराङकोट धामको उद्घाटनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् । देश र जनताका निम्ति ‘हामी’ले अझै थुप्रै गर्न बाँकी रहेको उनले बताए । उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गरे । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको उनले बताए । राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका निम्ति ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो, यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ ।

कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने उनले धारणा व्यक्त गरे । स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएकामा उनले जोड दिए । यो पवित्रस्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस् । उनले पोखरा र यो क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्वपर्यटन बजारमा प्रवद्र्धन गरी आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताए । उनले भने, पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका बासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *