लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचले सीइओ कँडेललाई गर्यो सम्मान
काठमाडौं । लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा द कँडेल ग्रुपका ग्रुप सीइओ राजन कँडेल सम्मानित भएका छन् । सीइओ कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक समारोहबीच शिक्षामा उनको योगदानका लागि सम्मान गरिएको हो । पूर्व छात्रहरुको सम्मानमा आयोजित उक्त समारोहले बेलायत, नेपाल, युएई र क्यानडाका विभिन्न समुदायमा शिक्षालाई पहुँचयोग्य बनाउन कँडेलले गरेको योगदानको कदर गरेको थियो । ग्रीनवीच विश्वविद्यालयको ऐतिहासिक क्याम्पसमा भएको कार्यक्रममा उपकुलपति प्रोफेसर जेन ह्यारिङ्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरेकी थिइन् ।
सम्मान ग्रहण गर्दै कँडेलले आफ्नो शैक्षिक जग बसाल्न र शिक्षा क्षेत्रमा आफ्नो यात्रालाई प्रेरणा दिएकोमा ग्रीनवीच विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गरेका थिए । सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिङमा बीएससी ९अनर्स० हासिल गरेका कँडेलले शिक्षामा करियर निर्माण गरेका छन् । सन् २०११ मा उनले ब्रिटिश कलेज काठमाडौं स्थापना गरे जुन नेपालको उच्चशिक्षा प्रदान गर्ने प्रमुख शैक्षिक संस्थानमध्ये एक मानिन्छ र यो अहिले अन्तर्राष्ट्रिय रूपमा विस्तार भएको छ। २५ वर्ष अघि नेपालबाट ऋण लिएर लन्डन पुगेका कँडेलको अहिले ५ वटा देशमा व्यवसाय छन् । उनी अमेरिकासहित अन्य देशमा समेत आफ्नो व्यवसाय विस्तार गर्ने तयारीमा जुटिरहेका छन् ।