मेलम्चीको पाइप फुट्दा काठमाडौँको थापाथली क्षेत्र जलमग्न
काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ ।
आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाई पाइप मर्मतपश्चात् पानी वितरण कार्य सुरु गरिने छ ।” थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।