संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी
काठमाडौँ । संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी गरिएको छ ।
नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् । सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलहरुबीच सहमति भएको छ ।
त्यसैगरी सत्ता साझेदारी दल नेकपा एमालेले पनि आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।
सरकारले ल्याएका अध्यादेश बुधबार नै संसद्मा पेश हुने भएको छ । आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।