आजदेखि औपचारिक रूपमा होली सुरु
काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८: ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । यससँगै आजदेखि औपचारिक रूपमा फागु पर्व (होली) सुरु भएको छ । हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।