गत आर्थिक वर्षमा नेपाल डिस्टिलरिजले १ अर्ब ८२ करोड २० लाख रुपैयाँको व्यापार

काठमाण्डौं । नेपाल डिस्टिलरिज प्रालि खुकुरी रम उत्पादन गर्ने कम्पनीको स्वामित्व शरद टिबरेवाला र बसन्त चौधरीसँग छ । गत आर्थिक वर्ष खुकुरी रम उत्पादन गर्ने कम्पनी नेपाल डिस्टिलरिजले १ अर्ब ८२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । केही वर्षयता निरन्तर वृद्धि भइरहेको कम्पनीको व्यापारमा गत वर्ष भने केही मात्रामा घटेको देखिएको छ । सन् २०२० मा नेपाल डिस्टिलरिजले १ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछिका वर्षमा भने कम्पनीको व्यापार निरन्तर बढ्दै गएको थियो । डिस्टिलरिजले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ मा भने कम्पनीले १ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । युरोपदेखि अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात हुने रम उत्पादन गर्ने कम्पनीको पछिल्लो वर्ष भने कारोबारमा केही कमी आएको छ । अघिल्लो वर्षको स्टकहरु सबै नबिक्नु, चालु पुँजीमा वृद्धि हुनु, कम्पनीको नयाँ ब्रान्डमा ग्राहकहरुको न्यून आकर्षण लगायतका कारणले कम्पनी सञ्चालन आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको अनुपातमा पनि सामान्य कमी आएको छ । सन् २०२३ मा सञ्चालन आम्दानीको २३.२ प्रतिशत सञ्चालन नाफा रहेको कम्पनीको २०२४ मा आउँदा उक्त अनुपात २१.६ प्रतिशतमा आएको हो । कम्पनीको सञ्चालन नाफा ऋणको अनुपात न्यून छ ।

यसले कम्पनी वित्तीय रुपमा बलियो अवस्थामा छ । सञ्चालन आम्दानीको करिब २२ प्रतिशत सञ्चालन नाफा रहेको कम्पनीको ऋण भने सञ्चालन नाफामा १।५ गुणा मात्रै छ । सन् २०२४ मा सञ्चालन नाफामा १.६ प्रतिशत ऋण रहेको कम्पनीले पछिल्लो वर्षमा ऋण घटाएको हो । नेपाल डिस्टिलरिजको नयाँ उत्पादन बजारमा ल्याउँदा त्यसको लागि चालु पुँजी बढाउँदै लगेको छ । सन् २०२२ मा सञ्चालन आम्दानीको २ प्रतिशत चालु पुँजी रहेकोमा २०२४ मा उक्त अनुपात बढेर १७.७ प्रतिशत पुगेको छ । पछिल्लो समय कम्पनीले उत्पादन गरेका केही नयाँ ब्रान्डहरुले गर्दा चालुपुँजी वृद्धि भएको हो । कम्पनीले आफ्ना सबै डिलरहरुमा उत्पादन पुर्याउन तेस्रो पक्षलाई ठेक्का दिने गरेको छ । कम्पनीको सम्पूर्ण बिक्रीमा एउटा मात्रै वितरणमा निर्भरता रहेका कारण जोखिम बढ्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । नेपाल डिस्टिलरिज प्रालि सन् १९६१ मा खुलेको कम्पनी हो । स्वदेशी स्प्रिट उद्योगकै पुरोनो कम्पनीले खुकुरी रम, न्युड भोड्का लगायत ब्राण्डको उत्पादन गर्छ । कम्पनीको नेपाली बजारमा मार्केट सेयर निकै उच्च रहेको छ । र, रमका लागि निकै चर्चित रहेको छ । रेटिङ एजेन्सीका अनुसार रम बजारमा खुकुरी रमको बजार हिस्सा ८० प्रतिशत छ । विशेष गरी यो रम जाडो मौसममा बढी बिक्री हुँदै आएको छ । कम्पनीले हालै मात्र १ अर्ब ५३ करोडको ऋणका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालिन ऋणका लागि ३० करोड ५३ लाख ३१ हजारको रेडिङ गराएको छ । रेटिङ एजेन्सीले दीर्घकालिन ऋणका लागि एलए माइनस रेटिङ दिएको छ । त्यस्तै कम्पनीले अल्पकालीन ऋणका लागि ४० करोडको रेटिङ गराएको छ । कम्पनीले नो फन्ड बेसमा ३० करोडको अल्पकालीन ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको पछिल्लो आर्थिक वर्ष २०२४ मा व्यापारमा केही कमी आए पनि कम्पनीले बुझाउने राजस्व भने घटेको छैन । हालसम्म कम्पनीको वित्तीय अवस्था मजबुत छ । सञ्चालन आम्दानीमा उच्च सञ्चालन नाफा र न्यून ऋणले कम्पनीको बलियो वित्तीय अवस्थालाई संकेत गर्छ ।

कम्पनीले बजारमा ल्याएको दुई नयाँ उत्पादनले चालु पुँजीको आवश्यकता बढाएको छ । जसले गर्दा पछिल्लो दुई वर्ष ऋण केही बढ्दा सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफाको अनुपात केही घटेको छ । तर, बलियो ब्रान्ड स्थिति र अर्थतन्त्रमा देखिएको शिथिलताका बीच पनि राम्रो बिक्री आम्दानीले कम्पनीलाई वित्तीय रुपमा पनि सहज बनाएको छ । नेपाल डिस्टिलरीजको पछिल्लो समयम मुख्य व्यापार खुकरी रम ब्रान्ड (डार्क रम) मा निर्भर छ । उसले उत्पादन गर्ने न्युड भोडका, व्हिस्की र सेतो रम सेगमेन्ट उत्पादन सुरुवाती चरणमा छन् । जसले पनि कम्पनीको व्यवसाय खुकरी रममा निर्भर रहेको छ । रमको बिक्री मौसमी अथात् जाडो महिनामा माग उच्च हुन्छ । रमको सिजन बाहेकको समयमा कम्पनीको सञ्चालन आम्दानीमा अत्यधिक नकारात्मक प्रभाव पर्छ । यसलाई न्यूनीकरण गर्न कम्पनीले आफ्ना उत्पादनलाई विविधीकरण गर्न आवश्यक छ । कम्पनीको नयाँ उत्पादन सफल भएमा कम्पनीलाई थप सहज हुनेछ । मदिरा नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तुहरु मध्ये एक हो । त्यसैले मदिराको उत्पादन लागत प्रत्येक वर्ष निरन्तर बढ्दै जान्छ । लागतको निरन्तर वृद्धि र प्रतिस्पर्धीले लागत वृद्धिको भार उपभोक्तामा ट्रान्सफर गर्न कठिन हुन्छ । जसले गर्दा भविश्यमा कम्पनीको नाफामा संकुचन आउनसक्ने जोखिम छ । सरकारले मदिराको प्रचार, बिक्री र वितरणमा कुनै पनि प्रतिबन्धले कम्पनीको व्यवसाय विस्तार गर्ने रणनीतिमा असर पर्नेसक्ने जोखिम रेटिङ एजेन्सीले औंल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *