देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो- प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । 

कोशी प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकताअनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए ।

“हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ ।’’, प्रधानमन्त्री ओलीले भने, “नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *