प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ । आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
मोरङमा प्रधानमन्त्री ओली दुई स्थानका कार्यक्रममा सहभागी हुने तयारी छ । प्रधानमन्त्री ओली आज साढे १० बजे हेलिकप्टर मार्फत मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउनेछन् । साढे ११ बजे विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उदघाटन गर्नेछन् । त्यसलगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उदघाटन गर्नेछन् । दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरी उनी साढे ४ बजे हेलिकप्टर मार्फत काठमाडौं फर्कने कार्यतालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *