चन्द्रागिरि साकोसमा आकु प्रमुख कार्यकारी अधिकृत सहितको टोलीको अवलोकन
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा एशियाली ऋण महासंघको प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहितको टोलीले स्थलगत भ्रमण गरेको छ । भ्रमणको क्रममा सहकारी अभियानको प्रवर्धन, संस्थाहरुको सबलीकरण र दिगो सञ्जालीकरण तथा सदस्यहरुलाई आर्थिक रुपले सृद्धढ बनाउने विषयमा छलफल भएको छ । संस्थाको अध्यक्ष शिवशंकर मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै यस भ्रमणले चन्द्रागिरिको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन आकु र नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
यस अवसरमा आकु प्रमुख कार्यकारी अधिकृत लेनीले एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तिकरणमा एशियाली ऋण महासंघको भूमिका रहने कुरा दोह¥याउँदै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रित सेवाले दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने कुरामा जोड दिए । त्यसैगरी आकुका प्रमुख प्राविधिक अधिकृत रञ्जितले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारे धारणा राखेका थिए । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाविचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले नियालीरहेको बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अवको प्राथमिकताको क्षेत्र रहेको विषयमा प्रकाश पारेका थिए । लेखा सुपरीवेक्षण समितिको संयोजक भानु प्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास गरे । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।