स्वतन्त्र विद्यार्थी युनियनको गौरव

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झन्डै ११ सय क्याम्पसहरूमा यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त गरी १ हजार १०२ क्याम्पसमा एकै दिन निर्वाचन हुनेछ । निर्वाचनमा स्वतन्त्र समूहहरू र विभिन्न राजनीतिक दलका भातृ सङ्गठन गरी दर्जन बढी समूहले सहभागिता जनाएका छन् । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, एमालेको अनेरास्ववियु, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) गरी ठुला दलका सबै भातृ सङ्गठन निर्वाचनमा खडा भएका छन् ।

निर्वाचनमा कमजोर सङ्गठनहरू बिच एकता गरी बलियोको विरुद्ध मोर्चा बन्दी गर्ने काम पनि भएको छ । राजधानीको त्रिचन्द्र क्याम्पसमा नेविसंघ विरुद्ध सत्तारुढ गठबन्धनको एउटा घटक नेकपा एमालेको भातृसंगठन, प्रमुख विपक्षी दल समेतका ६ वटा वामपन्थी विद्यार्थी सङ्गठन र एउटा जातीय सङ्गठन बिच एकता भएको छ । देश भरिका थुप्रै विद्यार्थी सङ्गठनले जित निकाल्न आफू अनुकूल समूहसँग एकता पनि गरेका छन् । त्यस्तो एकतामा राजनीति विचार र सिद्धान्तलाई भने आधार मानिएको छैन । त्यस्तो एकतामा फगत जितलाई आधार बनाएका छन् । सिद्धान्त नमिल्ने बिचको गठबन्धन गरेर पद हत्याउने प्रवृत्ति यता केही वर्षदेखि बढेर गएको छ । पदका लागि फरक विचार राख्ने सङ्गठनसँग गठबन्धन गर्नेहरूमा आफ्नै समूहभित्र विद्रोह गर्ने र आधिकारिक उम्मेदवार विरुद्ध छुट्टै उम्मेदवारी दिने क्रम पनि यस पटक अलि बढी देखिएको छ । त्यस्तो विद्रोह सबै भन्दा बढी नेविसंघमा देखिएको छ । नेविसंघ यस पटक प्रतिपक्षी दल समर्थक विद्यार्थी सङ्गठनमा मिसिएको सत्तारुढ दल एमालेको गठबन्धनबाट तीव्र दबाबमा छ, र पनि आफैँभित्र एकता कायम गर्न सकेको छैन । आफैँभित्रको द्वन्द्व र झगडाले नेविसंघको आसन्न स्ववियु निर्वाचनमा निक्कै कमजोर उपस्थिति देखिँदै छ । काँग्रेस पार्टीको प्रतिछाया परेको नेविसंघलाई एक ढिक्का बनाउने तत्त्व नहुँदा सहज जित्ने स्थान पनि गुमाउने सम्भावना देखिन्छ ।

स्वतन्त्र विद्यार्थी आन्दोलनको छुट्टै र गौरवपूर्ण इतिहास बोकेको स्ववियु अहिले राजनीतिक दलहरूको ताबेदारी गर्ने संस्थामा परिणत भएको छ । दलका नेता र सरकारको अपराधकर्मीलाई ढाल बनेर रक्षा गर्ने काममा विद्यार्थी युनियनको दुरुपयोग अहिले व्यापक मात्रामा भएको छ । नेताहरूको आड भरोसामा पद हासिल गर्ने र त्यही पदको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने परम्परा आजका सबै विद्यार्थी सङ्गठनमा बसालिएको छ । राजनीतिक दलमा भएका तमाम विकृति र विसङ्गति अहिले सबै भातृसँगठनहरुमा छ । त्यसमा पनि तुलनात्मक रूपले बढी सङ्गठित हुनुको नाताले विद्यार्थी शक्तिको सहजै दुरुपयोग गर्न सकिने भएकाले विकृतिको त्यो छाया पनि त्यही बढी देखिन्छ । अहिले विद्यार्थी सङ्गठन र स्ववियुको चरित्र, व्यवहार र क्रियाकलापले गर्दा स्ववियुको आवश्यकतामाथि नै प्रश्न चिन्ह लाग्न थालेको छ । स्वतन्त्र ढङ्गले निर्णय लिने, विद्यार्थीको हित र शैक्षिक आन्दोलनको पक्षमा इमानदारीपूर्वक लाग्ने स्थिति नै अहिले कतै देखिएको छैन । शिक्षा व्यापारिक मालको रूपमा परिणत भएसँगै सबै शैक्षिक प्राज्ञिक क्षेत्र मुनाफा खोरीको हातमा गएको वेला विश्वविद्यालयमा पनि सङ्गठनको बलमा अनेक अनुचित दुष्कर्म गर्नेहरूको हात बलियो बन्दै जाँदै छ । यो विद्यार्थी युनियनको चुनावले पनि त्यसलाई नै निरन्तरता दिने बाहेक अरू केही गर्ने सम्भावना देखिँदैन । विद्यार्थी आन्दोलनको गरिमा र गौरवको रक्षा गर्ने हो भने यो आन्दोलनलाई दलहरूको चङ्गुलबाट मुक्त गराई स्वतन्त्र ढङ्गले अघि बढाउनु आवश्यक छ ।

सत्याग्रह सम्पादकीय हरेक बिहीबार सत्याग्रह साप्ताहिक पत्रिकामा प्रकाशन भई सत्याग्रह अनलाइनमा बिहीबार नै प्रकाशन हुनु पर्ने मा कारण बस् आज शुक्रवार सत्याग्रह अनलाइनमा प्रकाशन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *