परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता
नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा भेटवार्ता सम्पन्न भएको छ।
राइसिना डायलग कार्यक्रममा सहभागी दुई मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको हो। मन्त्री राणाले युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइको लागि युक्रेन सरकारसँग आग्रह गरेकी थिइन्। मानव तस्करमार्फत रुसी सेनामा भर्ना भएका ती नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको नियन्त्रणमा छन्।
युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई रिहा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपालको उम्मेदवारीमा युक्रेनको सहयोगको लागि आग्रह गरेकी थिइन्।