प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत
काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत भएका छन् ।
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा आलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे ।
पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नव प्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा. आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् । यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।