वैदेशिक रोजगारी- भत्कँदो पारिवारिक सम्बन्ध, आँसु झार्ने यथार्थ

काठमाडौँ । नेपालमा बेरोजगारीको समस्या गहिरिँदो छ । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार, नेपालमा बेरोजगारी दर करिब ११.४ प्रतिशत पुगेको छ, जुन दक्षिण एसियाली औसतभन्दा बढी हो । नेपालका कूल श्रम शक्तिमध्ये झन्डै ४० प्रतिशत मानिस पूर्ण रूपमा बेरोजगार छन् या न्यूनतम तलबमा जीविका चलाइरहेका छन् । यही कारण लाखौँ नेपाली युवा भविष्यका सपना बोकेर दिनहुँ विदेशिने गर्दछन् ।

सरकारी तथ्यांक अनुसार, हाल विदेशमा करिब ४० लाख नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये मलेसिया, खाडी मुलुक (साउदी अरब, कतार, युएई, कुवेत, बहराइन) र दक्षिण कोरियामा मात्र करिब ३० लाख नेपाली काम गर्छन् । हरेक वर्ष ५ लाखभन्दा बढी युवा काम खोज्दै विदेश पलायन हुने गर्छन् । तर, आर्थिक समृद्धिको खोजीमा गएका यी श्रमिकहरूको कथा आँसु झार्ने खालको छ । परिवारको सुखका लागि ज्यान जोखिममा राखेर कमाउन विदेश गएका श्रीमानहरू वर्षौँसम्म घर फर्कन पाउँदैनन्, न परिवारलाई भेट्न सक्छन् । उनीहरू बिहानदेखि बेलुकीसम्म कडा परिश्रम गर्छन्, तर धेरैजसो अवस्थामा तिनको बलिदानको परिवारले खासै सम्मान गरेको देखिदैन् ।

नेपालमा विवाह एउटा भावनात्मक र सामाजिक बन्धन हो । तर, जब श्रीमान् विदेश जान्छन्, यो सम्बन्धमा दूरी बढ्न थाल्छ । केही महिना, केही वर्षसम्म ठिकै लाग्न सक्छ, तर बिस्तारै यो दूरीले मनोवैज्ञानिक असर पार्न थाल्छ । त्यसपछि बिस्तारै एक्लोपन र सामाजिक चुनौती आउन थाल्छन् । विशेष गरी नेपालमा रहेका श्रीमतीहरूका लागि श्रीमान् बिदेसिनु केवल आर्थिक सङ्घर्ष मात्र होइन, भावनात्मक र सामाजिक चुनौती समेत हो । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार, वैदेशिक रोजगारीमा गएका पुरुषहरूका श्रीमतीमध्ये करिब ४२ प्रतिशत मानसिक तनावमा पर्ने गरेका छन् ।

श्रीमान विदेशियपछि आउँने समस्याहरु :

हाम्रो नेपाली समाजमा महिलालाई ‘एक्लो’ देख्नेहरू अनेक थरी टीका–टिप्पणी गर्छन् । घरपरिवारका बुजुर्ग सदस्यहरूले केही ठाउँमा असहयोगी व्यवहार देखाउँछन् । एक्लोपनको कारण कतिपय महिलाहरू डिप्रेसनको सिकार बन्न पुग्छन् । कतिपय महिलाहरू श्रीमान् विदेश भएकाले आर्थिक रूपमा आत्मनिर्भर नहुनेहरू अपहेलित हुने गर्छन्। त्यसै गरी विदेशमा रहेका श्रीमानहरूमा पनि मानसिक पीडा हुने गरेको पाइएको छ । विदेशमा बसेर दिनरात मेहनत गर्ने श्रीमान्हरूका लागि सबभन्दा ठुलो तनाव भनेकै आफ्नै घरबाट आउने खबरहरू हुन्छन्। ‘घरमा सबै ठिक छ’ भन्ने कुरामा विश्वास गर्न गाह्रो हुने ‘श्रीमतीको व्यवहार फेरिएको छ’ भन्ने साथीभाइका कुरा सुनेर शङ्का उत्पन्न हुने त्यसै गरी ‘बच्चाहरू आफैँ पराइ भएका छन् भन्ने जस्ता महसुस हुने लगायत कुराहरूले उनीहरूलाई झन् तनाव गराउने गर्दछ । एक अध्ययनअनुसार, वैदेशिक रोजगारीमा गएका करिब ६० प्रतिशत पुरुषले ‘श्रीमतीले धोका दिने डर’ मनमा पालेको समेत पाइन्छ ।

नेपालमा श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भएका केही घटनाहरू :

यसरी वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध अनैतिक कारणबाट टुक्रिएका घटनाहरू धेरै आउने गरेका छन् । हुन त सम्बन्धमा टाढा हुँदा शङ्का उत्पन्न हुनु स्वाभाविक कुरा हो। तर, केही घटनाहरूले नेपाली समाज नै हल्लाइरहेका पनि छन् । नेपालमा श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमतीले धोका दिएको वा अन्यसँग गएको घटनाहरू धेरै मात्रमा आउने गरेका छन् । नेपालमा भएका यस्ता घटनाहरूले वैदेशिक रोजगारीको सामाजिक विकृतिलाई उजागर गरेका छन्।

घटना १ः मकवानपुरका एक पुरुषले पाँच वर्ष कतार बसेर श्रीमतीका लागि सबै सुख सुविधा जुटाएका थिए। तर, घर फर्किँदा श्रीमती अर्कै पुरुषसँग विवाह गरेर बसेको थाहा पाए ।

घटना २ः सुनसरीका एक युवक मलेसियाबाट फर्किँदा श्रीमतीले घर नै बेचेर प्रेमीसँग भागिसकेकी रहिछन्।

घटना ३ः कैलालीका एक युवक साउदीबाट फर्किँदा श्रीमतीले ‘तिमी मरेको खबर आएको थियो’ भन्दै नयाँ श्रीमान् खोजिसकेकी रहिछन । यी त उदाहरण मात्र भए श्रीमान् बिदेसिएपछि भएका यस्ता घटनालाई उल्लेख गर्ने हो भने सयौँ हजारौँ यस्ता घटनाहरू हुने गरेका छन् । नेपाल प्रहरीका अनुसार, पछिल्लो पाँच वर्षमा मात्रै १५०० भन्दा बढी यस्ता उजुरी दर्ता भएका छन्, जहाँ वैदेशिक रोजगारीका कारण श्रीमतीले श्रीमानलाई धोका दिएको पाइएको छ ।

यस्ता घटनाहरू श्रीमतीले मात्र घटाएका भने पक्कै पनि छैनन् वैदेशिक रोजगारीमा गएका श्रीमानहरूले पनि धोका दिएका घटनाहरू वेला बखतमा सार्वजनिक हुने गरेका छन् । केही श्रीमानहरू विदेश गएपछि नयाँ सम्बन्धमा लाग्ने गरेका घटनाहरू पनि छन् । कतिपय पुरुषहरू विदेशमा दोस्रो विवाह गरेर नेपालका परिवारलाई बेवास्ता गर्छन्। कतिपय श्रीमानहरूले नेपालमा श्रीमतीलाई नियमित खर्च नपठाई ‘धोका’ दिने गरेका छन्।

नेपालमा एक विकृत मौलाइरहेको छ । वैदेशिक रोजगारीमा गएका पुरुषहरूको श्रीमतीलाई ललाइ फकाइ गर्ने । कतिपय स्थानीय पुरुषहरू वैदेशिक रोजगार गएका पुरुषहरूको श्रीमतीलाई ‘एक्लोपनको फाइदा उठाउने’ प्रयास गर्छन्। फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमार्फत ‘मायाको नाटक’ गरेर श्रीमतीहरूलाई प्रेम जालमा पार्ने क्रम बढ्दो छ। गाउँघरमा ‘फुर्सदिला पुरुषहरू’ अर्काको श्रीमतीप्रति आकर्षित हुने प्रवृत्ति देखिएको छ। गृह मन्त्रालयका अनुसार, नेपालमा हुने ‘वैदेशिक रोजगारीसँग सम्बन्धित पारिवारिक द्वन्द्वका ३० प्रतिशतभन्दा बढी मामिलामा तेस्रो व्यक्तिको संलग्नता रहेको पाइएको छ ।

यस्ता प्रवृति र बालबालिकामा पर्ने असर:

वैदेशिक रोजगारीले केवल श्रीमान्–श्रीमतीबिचको सम्बन्ध मात्र भत्काइरहेको छैन, बालबालिकाको भविष्य पनि प्रभावित बनाइरहेको छ। बाबुआमाको माया नपाएका बालबालिकाहरू ‘भावनात्मक रूपमा कमजोर’ भइरहेका छन् । कतिपय बालबालिकाहरू असल हेरचाह नपाएर लागूपदार्थमा फस्ने गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । बुबा–आमाको सम्बन्ध बिग्रिएपछि छोराछोरीले मानसिक तनाव झेल्नुपर्ने लगायतका घटनाहरू नेपालको विभिन्न ठाउँमा घटेका छन् । यसरी हेर्दा नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार, बाबुआमा मध्ये एक जना विदेशमा रहेका २० प्रतिशतभन्दा बढी बालबालिकामा ‘मनोवैज्ञानिक समस्या’ देखिएको छ ।

यस्ता घटना समाधान कसरी गर्ने ?

नियमित संचारः वैदेशिक रोजगारीमा गएका श्रीमान श्रीमतीबीच विश्वास कायम राख्न दैनिक सम्पर्क आवश्यक छ ।

आर्थिक पारदर्शिताः परिवारमा कमाइ र खर्च सम्बन्धी स्पष्टता राख्दा शंका र तनाव कम हुन सक्छ ।

सामाजिक सचेतनाः वैदेशिक रोजगारसँग जोडिएका सामाजिक समस्याबारे गाउँ–गाउँमा छलफल हुनुपर्छ।

नैतिक शिक्षाः श्रीमान–श्रीमती दुवैले एक–अर्काप्रति वफादार रहनुपर्ने संस्कारलाई सशक्त बनाउनु आवश्यक छ।

यसरी अन्त्यमा पारिवारिक विखण्डन रोक्न हामी सबै जिम्मेवार हुन आवश्यक छ । वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । तर, यदि पारिवारिक अस्थिरता बढ्दै गयो भने समाज नै टुक्रिन सक्छ । त्यसैले, सम्बन्धको जग माया, विश्वास, इमानदारिता र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ । वैदेशिक रोजगार हाम्रो बाध्यता हो, तर परिवारको विखण्डन हाम्रो कमजोरी हो । सम्बन्धको सम्मान गरौँ, माया र इमानदारिता बचाऔँ। वैदेशिक रोजगारीको पीडा बुझौँ, समाजलाई सकारात्मक दिशातर्फ लैजाऔँ ।

(विभिन्न अनलाइन पोर्टल र सामाजिक सञ्जालको सहयोगमा)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *