बुद्ध एयरको सिष्टम ह्याक गरेर टिकट बेच्ने २ जना पक्राउ
काठमाडौं । बुद्ध एयरको सिष्टम ह्याक गरेर अवैधानिक रुपमा टिकट बेचेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली घर भई हाल काठमाडौंको तारकेश्वर ९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर ४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् । उनीहरूले गैर कानुनी रुपमा हवाइ टिकटहरू बनाइ अवैध लाभ लिएको उजुरी परेपपछि आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
भारतीयको रोहबरमा रहेर यी दुई नेपालीहरूले बुद्ध एयरको सिष्टम ह्याकर गरेर यात्रुहरूको १५ दिनदेखि अवैध रुपमा टिकट काट्दै र पैसा राख्ने गरेका रहेछन्। एसपी आचार्यका अनुसार उनीहरूले हालसम्म २० जना यात्रुको हवाइ टिकट काटिसकेको तर पैसा नदिएको उजुरी आएपछि घटना बाहिर आएको हो । पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।