प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ- सभापति देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका हुन् । कांग्रेस नेत्री सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं ।’ उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ ।’

देउवाले आफ्नो राजनीतिक यात्रामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको उल्लेख गर्दै भने, ‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नु भयो, मैले अर्को पार्टी खोलें । पछि मिलौं भन्नु भयो, फेरि मिल्यौं । त्यही एकताको प्रस्ताव नभएको भए म कांग्रेसको सभापति बन्न सक्दिन थिएँ ।’ उनले पार्टी एकता प्रक्रियालाई स्मरण गर्दै थपे, ‘म पार्टी फोडेर हिँडेको मान्छे, तर गिरिजाबाबुले फेरि मिलौं भन्नु भयो, मिल्यौं, र अहिले सभापति बन्न पाएँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *