शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार अघि बढिरहेको छ: सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका लागि सरकारले हालै मात्र सत्यनिरूपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको बताए। उनले यी आयोगहरूले छिट्टै पूर्णता पाउने दाबी गर्दै आयोगले शान्ति सम्झौताको मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे।
“वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ। संक्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्यनिरूपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउनेछन्। आयोगले शान्ति सम्झौताको मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ। वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौँ,” देउवाले भने।
उनले संक्रमणकालीन न्यायको विषय नेपालले आफैँ सुल्झाउन सके विश्वका अरू मुलुकका लागि पनि मानक बन्न सक्ने बताए। वृहत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्याय दिएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिको मोडेल स्थापित गर्ने उनले बताए।