कलाकारको उमेर होइन पात्र र भुमिका हेरिनुपर्छ- राजेश हमाल
काठमाडौँ । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् ।
‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए । उनले भने, “मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ । किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन ।
यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ ।”उनले चलचित्रको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि चलचित्रमा अभिनय गरेको स्पष्ट गरे । नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि अभिनेता हमालले तारिफ गरे । अभिनेता हमालको जोडी बनेर चलचित्रमा प्रस्तुत भएकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरिन् ।
दिवाकर भट्टराईले निर्देशन गरेको ‘नरसिंहा अवतार’ चलचित्र आउँदो वर्ष २०८२ जेठ ९ मा प्रदर्शन हुनेछ ।