प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । आजको संसद्मा बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सांसद बोहराको मंगलबार उपचारका क्रममा निधन भएको हो ।
आजको प्रतिनिधिसभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरु विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरु सूची हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’ संसदको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।