हालको आईजीपी एमालेको युवा संघको सहअध्यक्ष रहेछ- राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।
आज (मंगलबार) पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्याँसका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ, अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्याँस कसरी एक्सपायर हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैँ सत्तामा नहुने कुरा याद राख्न पनि उनले आग्रह गरेका छन् । उनले भने, ‘तपाईँ (दीपक थापा) लाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् । यो कुरा याद राख्नुस् । प्रहरी प्रहरी भएर बसोस् ।’