पोखरामा लामिछानेको मुद्दाको पेसी स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार तोकिएको पेसी स्थगित भएको छ । गत चैत २२ गते उच्च अदालत दाङ तुलसीपुरको आदेशसँगै रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछाने भैरहवा कारागार चलान भएका छन् । पोखरामा भने लामिछानेविरुद्ध थप एउटा सम्पत्ति शुद्धीकरणको पनि मुद्दा छ । लामिछाने गत पुस २५ गते जिल्ला अदालतको आदेशबमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि रिहा भएका थिए । त्यसका विरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए । जसको पेसी बिहीबार तोकिएको थियो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित धरौटीमा रिहा भएका सातजनाविरुद्धको पेसी स्थगित भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयको निवेदनविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका प्रतिवादी खनालले पनि उच्चमा निवेदन दिएका थिए । उनका कानुन व्यवसायीले पेसी स्थगित गरेकै कारण अरुको पनि पेसी स्थगित भएको उच्च अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । यो निवेदनमा उच्च अदालत पोखराले जिल्लाबाट रिहा भएका प्रतिवादीलाई थुनामा पठाउने, रिहा गर्ने जिल्लाकै फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्नेमध्ये एउटा फैसला गर्नेछ ।