बनेपा नगरपालिकाले ‘सेक्योस’ अनलाइन प्रणाली बिन्धवासिनी साकोसबाट शुभारम्भ
काठमाडौं । बनेपा नगरपालिका सहकारीहरुका लागि विकास गरेको ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा आएको छ । उक्त अनलाइन प्रणाली नगरपालिकाले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबाट शुभारम्भ गरेको छ। सहकारीलाई नियमित सञ्चालनका लागि शासकीय सूचकाङ्क, वित्तीय सूचकाङ्क तथा अन्य सूचकाङ्क पालना गराउने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । बनेपा नगरपालिका कार्यक्षेत्र रहेका दर्जन भन्दा धेरै सहकारी बेपत्ता भएका, त्यतिकै संख्यामा सहकारीहरु झोलामा रहेका, भएका सहकारीहरुको सूचना प्रणाली तथा त्यसको अवस्थाका बारेमा जानकारी नभएको, संस्थाका पदाधिकारीहरुको लापरवाहीका कारण बचतकर्ताहरुको रकम जोखिममा परेको, नियामक निकायहरुको वेवास्ता लगायतका कारण देखिएका तमाम समस्याहरु समाधान गर्न उक्त प्रणालीको शुभारम्भ गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । विन्धबासिनी सहकारीले सञ्चालक समितिको ४५ औं बैठक सोही प्रणालीबाट सञ्चालनमा ल्याएको छ । अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतमा बसेको बैठक अघि आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शाक्यले उक्त अनलाइन प्रणालीको शुभारम्भ गरेका थिए ।
शुभारम्भसँगै उक्त उपकरण बनेपा नगर प्रमुख शाक्यले संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। नगर प्रमुख शाक्यले विन्धबासिनी साकोस देशकै नमुना संस्था भएकाले नगरपालिकाले लागू गरेको विद्युतिय प्रणाली लागू गर्ने पनि पहिलो संस्था बनेकोमा धन्यवाद दिएका थिए । नगरपालिकाको सामाजिक तथा सहकारी शाखा अधिकृत दिनेश कुमार पोखरेलले बनेपा नगरपालिकाले आफ्नो नियमन क्षेत्र भित्रका तथा नगर क्षेत्र भित्रका मुख्य कार्यालय, शाखा कार्यालय वा सेवा केन्द्र राखी सञ्चालन भएका प्रदेश नियमन वा संघिय नियम क्षेत्र भित्रका सबै सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा अनलाईन प्रणालीमा आबद्ध गराएको बताए । एक सय भन्दाबढी सहकारी संस्था प्रणालीमा आबद्ध भएको समेत उनले बताए । केही सहकारीहरु बचतकर्ताहरुको कमजोरी, सहकारी संस्थाका पदाधिकारीहरुको लापरवाही, नियामक निकायहरुको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या सृजना भएको र त्यस्ता कमी कमजोरीहरुलाई न्युनिकरण गरी राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदानलाई सुनिश्चित गर्न अनलाईन प्रविधि ल्याएको पोखरेलले बताए । बनेपा नगरपालिकाले नेपालकै नयाँ र पहिलो प्रणालीको रुपमा सहकारी संस्थाहरुको स्वःमूल्यांकन गराउने प्रणालीको रुपमा रहेको बताएको छ । उक्त प्रणालीले २७ सुचकहरुको आधारमा स्वःमुल्याकन गर्ने र सहकारीको यथार्थता जानकारी लिन सकिने बताईएको छ ।