शिक्षकहरुको आन्दोलनलाई हल्का रुपमा नलिनु- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई हल्का रुपमा लिनु घातक हुने चेतावनी दिए ।
उनले भने- ‘यो सरकार, साच्चै भन्ने हो भने अब एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत, औचित्य गुमाइसकेको छ । लाखौं शिक्षकहरु सडकमा छन् । शिक्षकको समस्या समाधानको लागि गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउनेबाहेक उहाँले केही पनि गर्नुभएको छैन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’
त्यसैगरी, लघुवित्त पीडित, सहकारी पीडित तथा चिकित्सकहरू आन्दोलनमा रहेको अवस्थालाई उल्लेख गर्दै उनले ती सबैको जायज माग छिटो सम्बोधन गर्नुपर्ने बताए ।