‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन’

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रुचि र विज्ञता दुवै नभएको बताएकी छन्।

सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा डा.शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।

उनले भनेकी छन्-

मिडिया मार्फत कसैले मेरो बारे झूठो प्रचार गरेको सन्दर्भमा भ्रमको पछि नलाग्न सबैमा अनुरोध ।

केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नवोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो ।

तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु । तपाईँहरुलाई जानकारी नै छ । म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु ।

त्यसैले अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु । म अहिले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले पनि मैले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व छ । त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिवद्ध छु ।

पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु । मलाई जानकारी भएअनुसार केही मानिसले मप्रति पूर्वाग्रह राखेरनै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको छु । मेरा विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचार–प्रसार नगरिदिनु हुन् सम्पूर्ण सञ्चारमाध्ययहरुलाई अनुरोध पनि गर्न चाहन्छु ।

गलत स्वार्थसहित केही सञ्चारमाध्ययममा कसैले फैलाएको भ्रमको पछि नलाग्न पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *