राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।